मुख्यमन्त्रीमाथि घुस आरोप लगाउने डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ

119 Shares

काठमाडौं । कैलालीको वन निर्देशनालयमा कार्यरत डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले सोमबार पक्राउ गरेको छ।

कैलालीस्थित उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो। भट्टले कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएपछि भट्टलाई पक्राउ गरिएको हो। हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

मुख्यमन्त्रीमाथि आरोप लगाएपछि उद्योग मन्त्रालयले भट्टसँग स्पष्टीकरण मागेको थियो। सोही स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

केही दिनअघि सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा भट्टले मुख्यमन्त्री शाहले आफूबाट पाँच लाख रुपैयाँ मागेको र रकम नदिएपछि पूर्वाग्राही भएर आफ्नो सरुवा गरिएको आरोप लगाएका थिए।