काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन भएको छ।
प्रदर्शनकारी युवाहरूले ‘प्रतिवेदन खै ?’, ‘सत्यतथ्य बाहिर ल्याऊ’ र ‘जेन जी को आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले सरकारले घटनाको छानबिन गर्न आयोग गठन गरे पनि लामो समयसम्म प्रतिवेदन सार्वजनिक नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
प्रदर्शनकारीहरूले माइतीघर मण्डलामा आँखामा कालोपट्टी बाँधेर विरोध जनाएका थिए। भदौ २३ र २४ गते युवाहरूले विभिन्न माग राख्दै गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेपपछि झडप भएको थियो। त्यसपछि सरकारले पूर्वन्यायाधीश कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।
आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक नभएकाले आम नागरिक र प्रदर्शनकारी युवाहरूमा असन्तुष्टि बढेको बताइएको छ।
प्रदर्शनकारीहरूले प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीमाथि कारबाही गर्न र युवाहरूका जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।
आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङमाथि फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको उल्लेख गरिएको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया