जनमत पार्टी अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्न्यास लिने, संघर्षको राजनीति जारी राख्ने घोषणा

155 Shares

काठमाडौं । सीके राउतले संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका छन्। तर उनले “संघर्षको राजनीति” जारी राख्ने बताएका छन्।

राउतले सामाजिक सञ्जालमा लेखेका छन्, “संसदीय राजनीतिबाट सन्न्यास लिने, संघर्षको राजनीति जारी राख्ने। पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिंदै अगाडि बढाउने। म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु– म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन। राजनितिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेन्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु।”

जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट उदाएको दल हो। त्यसबेला पार्टी राष्ट्रिय दल बनेको थियो र अध्यक्ष राउत आफैंले प्रत्यक्ष निर्वाचन जितेका थिए। समानुपातिकतर्फ पार्टीले थप पाँच सांसद सिट प्राप्त गरेको थियो।

तर २०८२ फागुन २१ को निर्वाचनमा जनमत पार्टीले एक पनि सिट जित्न सकेन। सप्तरी–२ बाट अध्यक्ष राउत रामजी यादवसँग पराजित भए। अन्य प्रत्यक्षतर्फका उम्मेदवार र समानुपातिकतर्फ पनि थ्रेसहोल्ड कटेन।

राउतले अब संसदीय राजनीतिबाट टाढा रहने तर पार्टीलाई आगामी निर्वाचनका लागि तयार गर्नमा लाग्ने बताएका छन्। उनले लेखेका छन्, “जनमत पार्टीलाई आउँदो स्थानीय र प्रदेश निर्वाचनका लागि तयारी गराउन प्रतिबद्ध छु।” साथै, आफू सदैव जनतासँगै रहने र हरेक मोर्चा तथा संघर्षमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

राउतले व्यक्तिगत इच्छा विपरीत पार्टी अध्यक्ष बन्नुपरेको पनि उल्लेख गरेका छन्। फेसबुकमा लेखेका छन्, “सो पार्टीको अध्यक्ष बन्नका लागि नरेन्द्र प्रसाद चौधरीज्यू सहितका साथीहरूलाई पटक–पटक कन्भिन्स गरें। उहाँहरूले नमानेपछि म आफैं जनमत पार्टीको अध्यक्ष बन्नु परेको थियो।” उनी दुई पटक संसदीय निर्वाचन लडेका भए पनि यसपटक पराजित भएका छन्।