एनआरएनएमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन

149 Shares

काठमाडौं । लामो समयदेखि विवादमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)मा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ।

काठमाडौंमा सम्पन्न संघको १२औँ एकता महाधिवेशनबाट डा. हेमराज शर्मा सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन हुनुभएको हो। अध्यक्षका अन्य दुई उम्मेदवार रोविन शेरचनरविन बज्राचार्यले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिँदा शर्मा निर्विरोध अध्यक्ष बन्ने बाटो खुलेको थियो।

जापानका व्यवसायी शेरचन र बेलायतका शर्माबीच मुख्य प्रतिस्पर्धा भए पनि एकताको लागि सहमति जनाउँदै शेरचनले उपाध्यक्षमा सहमति जनाएका छन्।

नयाँ नेतृत्वको औपचारिक घोषणा निर्वाचन समितिले सोमबार गर्ने जनाएको छ। यसअघि संघका सात अध्यक्षमध्ये चारजना प्रतिस्पर्धात्मक निर्वाचनमार्फत चयन भएका थिए भने उपेन्द्र महतो, जीवा लामिछाने र देवमान हिराचन सर्वसम्मत रूपमा अध्यक्ष बनेका थिए।

डा. शर्माको चयनसँगै करिब १३ वर्षपछि एनआरएनएमा अध्यक्ष पदमा पुनः सर्वसम्मत नेतृत्व स्थापित भएको छ। महाधिवेशनमा संघको नयाँ कार्यसमितिका अन्य पदहरूमा पनि सहमति जुटेको बताइएको छ।

अध्यक्षसहित कूल ६९ पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ। महाधिवेशन सोमबार प्रधानमन्त्री सुशीला कार्कीले समापन गर्ने कार्यक्रम रहेको छ।