काठमाडौं । भारतको ओडिसास्थित श्रीराम चन्द्र भञ्ज मेडिकल कलेजमा भीषण आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको छ।
आइतबार राति अस्पतालको पहिलो तल्लामा रहेको ट्रमा केयर आईसीयूबाट सुरु भएको आगो छोटो समयमै उग्र रूप लिएर फैलिँदा ७ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो। आगलागीको समयमा उक्त आईसीयूमा २३ जना बिरामी भर्ना थिए। बचाउने क्रममा करिब ११ जना अस्पताल कर्मचारी पनि जलेर घाइते भएका छन्। प्रारम्भिक अनुमान अनुसार विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने देखिएको छ।
ओडिसा मुख्यमन्त्री मोहन चरण माझीले सोमबार बिहानै घटनास्थल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्। उनले मृतकका परिवारलाई प्रतिपरिवार २५ लाख भारु राहत दिने घोषणा गर्दै उच्चस्तरीय छानबिन गर्न आदेश दिएका छन्।
यो अस्पताल ओडिसाकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था हो, जहाँ राज्यभरिका बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पतालका आईसीयू कक्षहरूमा यस्ता आगलागीका घटनाले सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।
यसअघि अक्टोबर सन् २०२५ मा जयपुरको सवाई मानसिंह अस्पतालको ट्रमा सेन्टरमा पनि आगलागी हुँदा ८ जना बिरामीको मृत्यु भएको थियो। त्यसपटक स्टोर रुममा रहेको स्मोक डिटेक्टरले काम नगर्दा अलार्म प्रणाली सक्रिय हुन सकेको थिएन, जसका कारण भेन्टिलेटरमा रहेका बिरामीको ज्यान गएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया