पाकिस्तानविरुद्ध बंगलादेशको एकदिवसीय शृङ्खला जित

135 Shares

काठमाडौं । पाकिस्तानसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला बंगलादेशले जितेको छ।

ढाकामा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा बंगलादेशले पाकिस्तानलाई ११ रनले पराजित गर्दै २–१ ले शृङ्खला आफ्नो पक्षमा पारेको हो।

बंगलादेशले दिएको २ सय ९१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७९ रन मात्र बनाउन सक्यो। पाकिस्तानका सलमान अली आगाले ९८ बलमा १ सय ६ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन। बंगलादेशका तास्किन अहमदले ४ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो। बंगलादेशका तन्जिद हसन तमिमले १ सय ७ रन बनाए। पाकिस्तानका हरिस रउफले ३ विकेट लिएका थिए।

शृङ्खलाको पहिलो खेल बंगलादेशले ८ विकेटले जितेको थियो भने दोस्रो खेलमा पाकिस्तान डकवर्थ–लुइस–स्टर्न नियमका आधारमा १ सय २८ रनले विजयी भएको थियो।

बंगलादेशले ११ वर्षपछि पाकिस्तानविरुद्ध एकदिवसीय शृङ्खला जितेको हो। यसअघि सन् २०१५ मा पाकिस्तानसँगको तीन खेलको एकदिवसीय शृङ्खलामा बंगलादेशले क्लिन स्वीप गरेको थियो