काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित तीन प्रतिशत मतको थ्रेसहोल्ड पार गरेका ६ वटै राजनीतिक दलले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरूको नाम निर्वाचन आयोगमा बुझाएका छन्।
राजनीतिक दलहरूले यसअघि बुझाएको बन्दसूचीबाट तोकिएको क्लस्टरअनुसारको प्रतिनिधित्वका आधारमा नामावली पठाएका हुन्। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार दलहरूले बुझाएको नाम क्लस्टरअनुसार मिलेमा सार्वजनिक गरिनेछ भने नमिलेमा मिलाउनका लागि समय दिइनेछ।
६ वटा दलमध्ये १६ सिट पाएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)ले आयोगमा बुझाएका समानुपातिक सांसदहरूको नाम शनिबार नै सार्वजनिक गरिसकेको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको रास्वपाले आइतबार बसेको सचिवालय बैठकबाट समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाएको हो। पार्टीका प्रवक्ता मनिष झाका अनुसार रास्वपाले ४८ महिला र ९ पुरुष गरी ५७ जनाको नाम आयोगमा बुझाएको छ र नाम सार्वजनिक गर्ने काम आयोगले नै गर्नेछ।
त्यस्तै, समानुपातिकमा २० सिट पाएको नेपाली कांग्रेसले पनि आजै नाम टुंगो लगाएको छ। कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार १५ महिलासहित २० जनाको नाम आयोगले नै सार्वजनिक गर्नेछ।
९ सिट पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रमेश हमाल, परशुराम तामाङ, भीमकुमार बुढा, प्रेम बयक, जोगकुमार बर्बरिया यादव, पार्वती बिक, गणेश विश्वकर्मा र निराशा चौधरी डगौराको नाम पठाएको छ।
यस्तै, ४ सिट पाएको श्रम संस्कृती पार्टीले पूर्णप्रसाद लिम्बु, अम्बिकादेवी सङ्ग्रौला, राधिका रम्तेल र रुवीकुमारी ठाकुरको नाम पठाएको छ।
त्यस्तै ४ सिट पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले भरत गिरी, ताहिर अली, खुस्बु ओली र सरस्वती लामाको नाम आयोगमा सिफारिस गरेको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया