काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ।
निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको जनाएको हो।
नयाँ मूल्यअनुसार तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ५२ रुपैयाँ पुगेको छ।
दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोल प्रतिलिटर १ सय ७१ रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ५१ रुपैयाँ पुगेको छ।
त्यस्तै, पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ४९ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ।
अमेरिका–इजरायल–इरानबीच बढेको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले त्यसको प्रभाव नेपालमा पनि परेको निगमले जनाएको छ।
भारतले पेट्रोलमा ३१ रुपैयाँ, डिजेल र मट्टीतेलमा ५४ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा २ सय १६ रुपैयाँले मूल्य बढाएर पठाए पनि उपभोक्तामा असर कम पार्ने प्रयासस्वरूप नेपालमा तुलनात्मक रूपमा कम दरले मूल्य वृद्धि गरिएको निगमको दाबी छ।
पश्चिम एशियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको र त्यसको असर नेपालमा परेको निगमले जनाएको छ। साथै, उपभोक्तालाई धेरै भार नपरोस् भनेर मूल्य स्थिरीकरण कोष र विगतको नाफाबाट केही भार बेहोरेर मूल्य धेरै नबढाइएको पनि निगमले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया