काठमाडौं । रवि सिंह ले निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमिक मासिक ५० हजार रुपैयाँसम्म हुनसक्ने बताएका छन्।
नेपाल निर्माण व्यवसायी महासंघ का अध्यक्ष सिंहले नेपालमा निर्माण क्षेत्रमा श्रमिकको चरम अभाव रहेको र यस क्षेत्रमा काम गर्न चाहनेका लागि अवसरसँगै राम्रो पारिश्रमिक पनि रहेको बताए।
उनका अनुसार निर्माण क्षेत्रअन्तर्गत पुल निर्माणमा काम गर्ने श्रमिकले महिनामै करिब ५० हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गरेका छन्। अहिले पुल निर्माणमा काम गर्ने अधिकांश श्रमिक भारत का रहेको उनले बताए। ती श्रमिकहरूले यसरी कमाएको अरबौँ रुपैयाँ पारिश्रमिक भारत लैजाने गरेका छन्।
सिंहका अनुसार निर्माण क्षेत्रमा मात्रै करिब ७ लाख भारतीय श्रमिक नेपालमा कार्यरत छन्।
सरकारले निर्माणसम्बन्धी कामका लागि आवश्यक जनशक्ति तयार गर्न नसक्दा निर्माण क्षेत्रमा भारतीय श्रमिकको दबदबा बढेको उनको भनाइ छ।
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत एक सय दिने रोजगारीको घोषणा गरे पनि त्यो कागजमै सीमित भइरहेको सिंहले बताए। उनले आगामी सरकारले व्यवहारिक शिक्षा लागू गर्दै नेपालमै श्रम गर्ने वातावरण तयार गर्नुपर्ने आवश्यकता औँल्याए।
फेसबुकबाट तपाईको प्रतिक्रिया