काठमाडौँ–१ का कांग्रेस उम्मेदवार प्रवल थापाले बुझाए २३ लाख २९ हजार चुनावी खर्च विवरण

167 Shares

काठमाडौँ । प्रवल थापा ले निर्वाचन आयोग समक्ष आफ्नो चुनावी खर्च विवरण बुझाउनुभएको छ।

नेपाली कांग्रेस का उम्मेदवार थापाले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका थिए। बिहीबार आयोगमा बुझाएको विवरणअनुसार उहाँले कुल २३ लाख २९ हजार रुपैयाँ खर्च गर्नुभएको उल्लेख छ।

थापाले मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ, मतदाता नामावली खरिदका लागि ३ हजार रुपैयाँ खर्च गर्नुभएको छ। प्रचारप्रसार सामग्रीअन्तर्गत सवारीसाधन भाडा तथा इन्धन, प्रतिबद्धता पत्र, नमुना मतपत्र, भिजिटिङ कार्ड, ब्यानर र झण्डाका लागि १ लाख १२ हजार ६६ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

त्यस्तै विद्युतीय माध्यमबाट प्रचारप्रसारका लागि डिजाइन, फोटो र अडियोमा ४ लाख ५२ हजार रुपैयाँ तथा अध्ययन–अनुसन्धान र सामाजिक सञ्जाल प्रचारमा ६ लाख ७८ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

विभिन्न बैठक, गोष्ठी तथा कार्यकर्ता परिचालनअन्तर्गत पार्टी बैठकमा १ लाख ७४ हजार ७४९ रुपैयाँ, घरदैलो कार्यक्रममा १ लाख ८६ हजार रुपैयाँ र निर्वाचन तथा मतगणना अवधिमा कार्यकर्ता परिचालनमा २ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ।

त्यसैगरी आठ वटा मोबाइल सेट खरिदमा ९ हजार ६०० रुपैयाँ र रिचार्ज कार्डमा ९ हजार रुपैयाँ खर्च गरिएको छ। स्टेशनरी तथा विविध शीर्षकमा १ लाख ४४ हजार ४०८ रुपैयाँ खर्च भएको उल्लेख गर्दै कुल २३ लाख २९ हजार ७५३ रुपैयाँ खर्च भएको विवरण आयोगमा पेश गरिएको छ।