काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले नेपाल सरकारका सहसचिव झलकराम अधिकारी विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक रहेका बेला अधिकारीले ७० लाख रुपैयाँ घुस लिएको आरोपसहित आयोगले आइतबार विशेष अदालत मा मुद्दा दायर गरेको हो।
राजस्व अनुसन्धान विभाग मा एच.के. इन्टरप्राइजेज नामक कम्पनीविरुद्ध राजस्व चुहावटको उजुरी परेपछि उक्त कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठ बाट अधिकारीले ७० लाख रुपैयाँ लिएर उजुरी अघि नबढाएको अख्तियारको दाबी छ।
२०७९ असार १ देखि २०७९ कात्तिक १६ गतेसम्म राजस्व अनुसन्धान विभागको महानिर्देशक रहेका अधिकारीले २०७९ साउनमा यस्तो लेनदेन गरेको आयोगले जनाएको छ।
श्रेष्ठबाट लिएको रकम विकास चापागाई, देवेन्द्र केसी र रविन्द्र लामिछाने लगायतका खातामा राखिएको आरोप पनि अख्तियारले लगाएको छ।
अख्तियारका अनुसार उक्त रकमबाट अधिकारीले भक्तपुर को दिव्यश्वरी आयोजना भित्रको पाँच आना जग्गा किनेका थिए। साथै देवेन्द्र केसी सञ्चालक रहेको द कुटी रिसोर्ट को कर्जा भुक्तानीमा समेत सो रकम प्रयोग गरिएको अनुसन्धानबाट खुलेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया