रुकुम पूर्वका डीएसपी उमाशंकर यादवमाथि छानबिन सुरु

111 Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व का डीएसपी उमाशंकर प्रसाद यादव माथि छानबिन सुरु गरिएको छ।

यादवलाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मेवारीबाट हटाएर लुम्बिनी प्रदेश प्रहरी कार्यालय मा हाजिर गराइएको हो। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा भर्ना गरिएका तीन जना निर्वाचन प्रहरीको विषयमा विवाद भएपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले यादवमाथि छानबिन थालेको हो।

छानबिनका लागि पुष्प मल्ल को नेतृत्वमा समिति गठन गरिएको छ। छानबिन अवधिभर डीएसपी यादवलाई जिल्लाबाट प्रदेशमा झिकाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

रुकुम पूर्वमा अहिले डीएसपी केशव ज्ञवाली लाई खटाइएको छ। ज्ञवाली यसअघि लुम्बिनी प्रदेश प्रहरी कार्यालयमै कार्यरत थिए।

निर्वाचन प्रहरी भर्नाका क्रममा यादवले बारा बाट तीन जनालाई रुकुम पूर्व बोलाएको बताइएको छ। उनीहरूलाई भर्ना गरेर तालिम नदिएको र ड्युटीमा पनि नखटाएको भन्दै निर्वाचन प्रहरीहरूले विरोध गरेपछि घटना बाहिरिएको थियो।

आफ्ना नातेदारलाई भर्ना गरेर तालिम नदिएको र ड्युटीमा पनि परिचालन नगरी सेवा–सुविधा दिएको आरोप यादवमाथि लागेको छ।