इरानी नागरिकका लागि ‘अन–अराइभल’ भिसा सुविधा बन्द

136 Shares

काठमाडौं । नेपाल सरकारले आफ्नो भिसा नीतिमा परिवर्तन गर्दै इरानी नागरिकका लागि ‘अन–अराइभल’ भिसा सुविधा बन्द गर्ने निर्णय गरेको छ।

अध्यागमन विभागका अनुसार अबदेखि इरानका साधारण राहदानीवाहक नागरिकहरूले नेपाल भ्रमणमा आउनुअघि अनिवार्य रूपमा विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगबाट भिसा लिनुपर्नेछ।

सरकारी तथा कूटनीतिक राहदानीवाहक इरानी नागरिकका हकमा भने पुरानै व्यवस्था कायम रहने विभागले स्पष्ट पारेको छ। यो निर्णयसँगै नेपाल आइपुगेपछि विमानस्थल वा प्रवेश नाकामै भिसा नपाउने देशहरूको संख्या अब १३ पुगेको छ।

यसअघि नै नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकलाई नेपालले ‘अन–अराइभल’ भिसा नदिने सूचीमा राखेको थियो। सुरक्षा संवेदनशीलता र अध्यागमन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सरकारले यो कदम चालेको जनाएको छ।

यसैबीच, राहदानी विभागले राहदानी वितरण प्रणाली एक हप्ता बन्द हुन सक्ने जनाएको छ। पुरानो प्रणाली हटाएर नयाँ प्रणाली जडान गर्ने क्रममा एक हप्तासम्म सेवा अवरुद्ध हुन सक्ने विभागले जनाएको हो।

विभागले सूचना जारी गर्दै जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुन सक्ने जानकारी दिएको छ।