काठमाडौं । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ पठाउने सांसदहरूको नाम टुंग्याएको छ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ४ जना सांसद पाउने गरी मत प्राप्त गरेको थियो। सो पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत पाएको छ।
उक्त मतका आधारमा पार्टीले चार जना सांसद प्रतिनिधिसभामा पठाउने भएको हो। चार जना सांसद पाउने भएपछि हर्क साम्पाङ नेतृत्वको पार्टी आन्तरिक विवादमा समेत फसेको थियो। तर विवादका बीचमा समानुपातिक सांसदको टुंगो लागेको श्रम संस्कृति पार्टीले जनाएको छ।
पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका संग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
यसअघि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि समानुपातिकतर्फबाट कसलाई प्रतिनिधिसभामा पठाउने भन्ने विषयमा पार्टीभित्र तीव्र मतभेद देखिएको थियो। सोही विवादका कारण खस आर्य अन्तर्गत पहिलो नम्बरमा रहेका जीवन विष्टले समानुपातिक सूचीबाट नाम फिर्ता लिनुभएको थियो।
प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ। सो पार्टीले खोटाङ, भोजपुर र सुनसरी–१ मा प्रत्यक्षतर्फ विजय हासिल गरेको हो। समानुपातिकमा पनि पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको हैसियत बनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया