इनिसा विक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

120 Shares

काठमाडौं । सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै शनिबार काठमाडौंमा पनि प्रदर्शन गरिएको छ।

काठमाडौंको माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले दोषीलाई फाँसीको सजाय दिने कानुन निर्माण गर्न सरकारलाई दबाब दिँदै प्रदर्शन गरेका हुन्।

सामाजिक अभियन्ता कविता चन्द सोडारीले हत्या र बलात्कारजस्ता जघन्य अपराधका घटना फेरि नदोहरिउन् भन्ने उद्देश्यले आफूहरू अभियानमा लागेको बताउनुभयो।

प्रदर्शनमा सहभागीहरूले “इनिसालाई न्याय देऊ”, “बालिकामाथि हुने बलात्कार, हिंसा र हत्या बन्द गर” लगायतका लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।

उनीहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकारले कडा कानुनी व्यवस्था गर्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्।