काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले पार्टीले गरेका काम र भोगेका घटनाक्रम जनतासम्म पुर्याउन नसक्दा निर्वाचनमा हार बेहोर्नुपरेको निष्कर्ष निकालेको छ।
अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी सचिव लेखराज भट्टले यस्तो जानकारी दिनुभएको हो।
भट्टका अनुसार पार्टीले गरेका काम, भदौ २३ र २४ गते भएको घटनासहितका विभिन्न राजनीतिक घटनाक्रम तथा पार्टी नेतृत्वमाथि भएको आक्रमणका विषय जनतामाझ स्पष्ट रूपमा राख्न नसक्दा जनमत प्रतिकूल बनेको बैठकले निष्कर्ष निकालेको छ।
यसैबीच, एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम पनि टुंगो लगाएको छ।
आदिवासी जनजातितर्फ महिलामा भुमिका सुब्बा र गंगादेवी श्रेष्ठ तथा पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्य रहेका छन्।
त्यस्तै खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, गुरुप्रसाद बराल, पुष्पराज कँडेल र यशोदा कुमारी बराल रहेका छन्।
थारुतर्फ कृपाराम राणा रहेका छन् भने दलिततर्फ विष्णुमाया विक र नीता घतानी चयन भएका छन्।
मधेसीतर्फ रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल रहेका छन्। मुस्लिमतर्फ साजिदा सिद्धिकी चयन भएको उपमहासचिव भट्टले जानकारी दिनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया