प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको छ : मुख्यमन्त्री यादव

149 Shares

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ।

विश्वमा कतै पनि प्रहरी प्रशासनबिना सरकार नहुने उल्लेख गर्दै उहाँले नेपालमा मात्रै प्रदेश सरकारले यस्तो अवस्था भोगिरहेको बताउनुभयो। जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले संविधानले परिकल्पना गरेको अधिकार आठ वर्षभन्दा बढी समय बितिसक्दा पनि प्रदेशले नपाएको गुनासो गर्नुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले जनकपुरको तिरहुतिया गाछीमा ‘अब अधिकारका लागि होइन, पशुपति दर्शन गर्न मात्र आउनु’ भनी दिएको अभिव्यक्तिको स्मरण गर्दै प्रदेशले नमागीकन अधिकार दिन खोजेकोमा साहलाई धन्यवादसमेत दिनुभयो।

मुख्यमन्त्री यादवले मधेस प्रदेशमा प्रहरीको भौतिक संरचना अत्यन्त दयनीय रहेको बताउनुभयो। माओवादी द्वन्द्वकालमा क्षति भएका भग्नावशेष भवनहरूमा समेत अहिले प्रहरी बस्न बाध्य रहेको उल्लेख गर्दै उहाँले यसको सुधार आवश्यक रहेको बताउनुभयो।

‘जेन–जी’ आन्दोलनका क्रममा धेरै स्थानमा प्रहरीका सवारी साधनहरू जलाइएका र नष्ट गरिएका कारण त्यसको पूर्ति गर्नुपर्ने दायित्व थपिएको उहाँको भनाइ छ। प्रदेश प्रहरीलाई सुसम्पन्न बनाउन प्रदेश सरकार मात्र होइन, संघीय सरकारको पनि उत्तिकै जिम्मेवारी रहेको उहाँले बताउनुभयो।

सीमित साधनस्रोतका बाबजुद प्रदेश सरकारले प्रत्येक वर्ष प्रहरीलाई सहयोग गर्दै आएको जानकारी दिँदै उहाँले प्रहरीका लागि आवश्यक संरचना र सुविधा विस्तार गर्न अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्नुभयो।

मुख्यमन्त्री यादवले २०८२ फागुन २१ गते सम्पन्न निर्वाचन भयरहित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सुरक्षा निकायको प्रशंसा समेत गर्नुभयो।