काठमाडौं । अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र सजग रहेको बताउनुभएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो।
उहाँले पछिल्लो समय मध्यपूर्वमा विकसित घटनाक्रम तथा त्यसले हवाई सेवामा पारेको प्रभावका कारण नेपाली नागरिकको आवतजावतमा प्रत्यक्ष असर परेको उल्लेख गर्नुभयो। सम्भावित आपतकालीन अवस्थामा नागरिकका समस्या तत्काल सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले ‘इमर्जेन्सी कन्ट्रोल रूम’ (आपतकालीन नियन्त्रण कक्ष) सञ्चालनमा ल्याइसकेको जानकारी पनि दिनुभयो।
उहाँका अनुसार उक्त कन्ट्रोल रूममार्फत विदेशमा रहेका नेपाली नागरिक र स्वदेशमा रहेका उनीहरूका परिवारबीच सूचना आदानप्रदान तथा समन्वयको सेतुका रूपमा मन्त्रालयले काम गर्नेछ।
सम्बोधनका क्रममा मन्त्री शर्माले पश्चिमी एशिया क्षेत्रमा रहेका नेपाली नागरिकलाई कुनै समस्या वा कठिनाइ परेमा तत्काल त्यहाँस्थित नेपाली राजदूतावाससँग सम्पर्कमा रहन र आफ्नो अवस्थाबारे जानकारी गराउन अपिल गर्नुभयो।
उहाँले भन्नुभयो, “वर्तमान समयमा विश्वका केही क्षेत्रहरूमा देखिएका अस्थिरता र द्वन्द्वले प्रवासमा रहेका नेपालीहरूको सुरक्षाप्रति चिन्ता बढाएको छ। नेपाल सरकार यसप्रति सजग छ।”
यस विषम परिस्थितिमा विदेशमा रहेका नेपाली नागरिकको हकहित संरक्षणका लागि सहयोग र सहकार्य गरेको भन्दै उहाँले गैरआवासीय नेपाली संघप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो।
भूकम्प, बाढीपहिरो लगायत दैवीप्रकोपका घटनादेखि कोभिड–१९ महामारीसम्म गैरआवासीय नेपालीहरूले पु¥याएको योगदानको स्मरण गर्दै मन्त्री शर्माले आगामी दिनमा पनि यस्तो सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया