एनआरएनएको १२औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने दाबी

151 Shares

काठमाडौं ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने दाबी गरिएको छ।

काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठलगायतले यही फागुन ३० गतेदेखि सुरु हुने महाधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताएका हुन्।

अध्यक्ष केसीले अध्यक्षसहित अधिकांश पदमा सर्वसम्मति कायम गर्ने प्रयास भइरहेको र केही पदमा सहमति नभए मात्र निर्वाचनमा जाने गरी छलफल जारी रहेको बताए।

सहमतिबाट नेतृत्व चयन गर्ने पहलका लागि अध्यक्षका प्रत्याशी रोविन शेरचनले उम्मेदवारी फिर्ता लिएका छन्। अध्यक्ष केसीका अनुसार अध्यक्ष पदका तीन जना प्रत्याशीमध्ये दुई जनाबीच सहमति भइसकेको छ।

उनले एनआरएनएभित्रको एकतालाई बलियो बनाउन पनि महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने कामलाई प्राथमिकतामा राखिएको बताए।

शनिबारदेखि काठमाडौंमा सुरु हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्ने कार्यक्रम रहेको छ।