नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास बिक्रीको निर्णय

147 Shares

काठमाडौं । नेपाल आयल निगमले शुक्रबारदेखि बजारमा आधा सिलिन्डर ग्यास (७.१ केजी) मात्र उपलब्ध गराउने निर्णय गरेको छ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार आधा सिलिन्डर ग्यासको मूल्य पनि पूर्ण सिलिन्डरको आधा मूल्यमा तोकिएको छ। अन्तर्राष्ट्रियस्तरमा जारी युद्धका कारण ग्यासको माग बढेका कारण आपूर्ति सामान्य गर्न निगमले यो कदम चालेको हो।

भट्टले बताए अनुसार आधा सिलिन्डर बिक्री गर्दा धेरै उपभोक्तासम्म ग्यास पुग्नेछ। पहिले १ हजार जनाले ग्यास पाउने ठाउँमा अब २ हजार जनाले ग्यास पाउने अवसर पाउनेछन्। यसले अनावश्यक रूपमा ग्यास स्टक गर्ने प्रवृत्ति पनि घटाउने निगमको दाबी छ।

उहाँले भने, “आधा सिलिन्डर कसैले पनि स्टक गरेर राख्दैन, जसलाई साँच्चिकै समस्या परेको छ उसले मात्रै किन्छ।”

निगमको भनाइअनुसार, यस निर्णयले बजारमा देखिएको ग्यास अभाव हटाउने र उपभोक्ताले सजिलै ग्यास पाउने स्थिति सिर्जना गर्ने अपेक्षा गरिएको छ।