संयुक्त राष्ट्रसंघद्वारा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ घोषणा, नेपालको प्रस्ताव सर्वसम्मत पारित

109 Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपालको प्रस्ताव स्वीकार गर्दै हरेक वर्ष अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’का रूपमा मनाउने घोषणा गरेको छ।

मार्च १०, २०२६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो। नेपालको पहलमा संयुक्त राष्ट्रसंघले कुनै अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको यो पहिलो पटक भएकाले यसलाई नेपालको कूटनीतिक क्षेत्रमा ऐतिहासिक उपलब्धि मानिएको छ।

परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालका अनुसार नेपालले प्रस्तुत गरेको प्रस्तावलाई भारत र चीनसहित दक्षिण एसियाका अधिकांश देश गरी कुल ४० देशले सहप्रायोजन गरेका थिए।

मन्त्रालयका अनुसार यस घोषणाले विश्वमञ्चमा नेपालको उपस्थितिलाई थप गरिमामय बनाएको छ। साथै विश्व शान्ति र मानवहितका लागि नेपालले खेल्दै आएको भूमिकालाई नयाँ उचाइमा पुर्‍याएको विश्वास लिइएको छ।

यससँगै नेपाललाई विश्वव्यापी ‘आरोग्यता केन्द्र’का रूपमा विकास गर्ने बाटो खुलेको पनि बताइएको छ। नेपालको पहलमा पारित यो प्रस्तावले नेपालको ‘सौम्य शक्ति’ प्रवर्द्धन गर्न तथा पर्यटनमार्फत आर्थिक कूटनीति अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यस घोषणासँगै नेपालले ‘आरोग्यता पर्यटन’लाई प्रवर्द्धन गर्दै अर्थतन्त्रमा योगदान बढाउने लक्ष्य राखेको छ। आरोग्यताको अवधारणाले शारीरिक, मानसिक, भावनात्मक, सामाजिक, सांस्कृतिक र वातावरणीय पक्षलाई समेट्ने समग्र दृष्टिकोणलाई स्थापित गरेको बताइएको छ।

यसले दिगो विकासका लक्ष्य हासिल गर्न, रोजगारी सिर्जना गर्न, गरिबी न्यूनीकरण गर्न र समावेशी आर्थिक वृद्धि प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। साथै योग, ध्यान र प्राकृतिक उपचारका लागि नेपाललाई विश्वभरका पर्यटकका लागि आकर्षक गन्तव्य बनाउन पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ।