विश्व बजारमा ग्यास अभावसँगै नेपालमा मूल्यवृद्धि जोखिम, निगमलाई निर्देशन

116 Shares

काठमाडौं । विश्व बजारमा ग्यासको अभाव र मूल्यवृद्धिसँगै नेपालमा यसको असर पर्न सक्ने जोखिम बढेको छ।

यसलाई मध्यनजर गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग ग्यासको आयात र बिक्रीको तथ्यांक मागेको छ। विभागका निर्देशक नरहरि तिवारीका अनुसार अभावको समस्या समाधान गर्न निगमले मन्त्रालयस्तरमा ठोस कार्ययोजना तयार गर्न र सबै सरोकारवालासँग छलफल गर्न निर्देशन पाएका छन्।

उपभोक्ताले करिब दुई महिना भइसकेको सहजै ग्यास पाउन नसक्दा मर्कामा परेको छ। निगमले हालसम्म ग्यास आपूर्तिमा कुनै समस्या नरहेको दावी गर्दै आएको छ। तर, केही बिक्रेताले निगमले तोकेको प्रतिसिलिन्डर मूल्य १,९१० रुपैयाँ भन्दा बढीमा बिक्री गरिरहेका छन्।

निगमका प्रवक्ता मनोज ठाकुरले बजारमा मागअनुसार ग्यास आपूर्ति भइरहेको र कृत्रिम अभाव सिर्जना गर्ने वा बढी मूल्य लिने बिक्रेतामाथि कडा निगरानी भइरहेको जानकारी दिए। बढी मूल्य लिने बिक्रेतालाई कारबाही गर्ने अधिकार वाणिज्य विभागसँग रहेको छ।

ग्यास वितरणलाई पारदर्शी बनाउन निगमले मंगलबार उद्योगी र बिक्रेतालाई निर्देशन दिएको छ। अब उद्योगीहरूले कुन बिक्रेतालाई कति ग्यास पठाए भन्ने स्पष्ट रेकर्ड राख्नुपर्नेछ भने बिक्रेताहरूले उपभोक्तालाई ग्यास बिक्री गर्दा नाम र फोन नम्बरसहित विवरण अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको छ।

निगमले अहिले घरायसी प्रयोजनलाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्न उद्योगीलाई निर्देशन दिएको छ। साथै, ग्यासको मौज्दात नबचत गरेर आवश्यकताअनुसार मात्र वितरण गर्न र उपभोक्तालाई पनि अनावश्यक मौज्दात नगर्न अनुरोध गरिएको छ।