संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ सम्बन्धी नेपालको प्रस्ताव पारित

135 Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ सम्बन्धी नेपालको प्रस्ताव पारित गरेको छ।

संयुक्त राष्ट्रसंघको महासभाले बुधबार उक्त प्रस्ताव पारित गरेको हो। अब विश्वभर हरेक वर्ष अप्रिल १५ तारिखमा ‘आरोग्य दिवस’ मनाइने भएको छ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले नेपालको प्रस्तावमा स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गरिएको जानकारी दिए।

राजदूत थापाका अनुसार उक्त प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणालीको प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ।

प्रस्ताव पारित गर्ने प्रक्रियामा सहयोग र समर्थन गर्ने विभिन्न देशहरूप्रति आभार व्यक्त गर्दै राजदूत थापाले यसलाई नेपालको महत्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताएका छन्।