बागलुङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रायराँयकोट यतिबेला चर्चामा छ। गुराँसको जङ्गलबीच रहेको यस स्थानमा पूर्वाधार विकाससँगै पर्यटकहरूको आगमन बढ्न थालेको हो।
बागलुङ नगरपालिका–७ बौलुङमाथिको डाँडामा अवस्थित रायराँयकोट आसपासको क्षेत्र यतिबेला राताम्य गुराँसले ढकमक्क भएको स्थानीय लालबहादुर गौतमले बताउनुभयो। यहाँ वैशाख र जेठ महिनामा स्थानीय समुदायले वर्षादेवका रूपमा पूजा–आजा गर्ने परम्परा पनि रहँदै आएको छ।
बागलुङ नगरपालिका र गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयको सहयोगमा यहाँ सडक, विद्युत्, पदमार्ग, खानेपानी, शौचालय र सत्तलजस्ता धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण भएका छन्। सडक पुगेपछि पर्यटकका लागि पुग्न अझ सहज भएको छ।
स्थानीय गौतमका अनुसार अहिले गुराँससँग फोटो खिच्ने, टिकटक बनाउने तथा आसपासका हिमशृङ्खला अवलोकन गर्न आउने पर्यटकहरूको संख्या बढिरहेको छ।
गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयमार्फत रायराँयकोट क्षेत्रमा अहिलेसम्म करिब २० लाख रुपैयाँ बराबरको पूर्वाधार निर्माण भइसकेको छ। मन्दिरको छाना छाउने, पुरानो घण्टी संरक्षण, सत्तल र पर्खाल निर्माण तथा मैदान व्यवस्थापन जस्ता काम सम्पन्न भएका छन्।
त्यसैगरी पञ्चकोटदेखि संसारकोटसम्म पदमार्ग निर्माण गर्न सङ्घीय सरकारबाट ५० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरिएको छ।
प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र गुराँसको मनमोहक दृश्यले रायराँयकोटलाई पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा चिनाउन थालेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया