देशभर आंशिक बदली, पहाडी–हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

97 Shares

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली भएको छ। साथै अन्य पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ। कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

सोमबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहनेछ। ती प्रदेशका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै सोमबार राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहनेछ। गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी–हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।