काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले पार्टीले अब गम्भीर समीक्षा सहित नियमित महाधिवेशन प्रक्रियामा प्रवेश गर्ने बताउनुभएको छ।
शनिबार न्युज एजेन्सी नेपाल सँगको कुराकानीमा शर्माले छिट्टै केन्द्रीय कार्यसमितिको बैठक बसेर निर्वाचन पराजयका बुँदा–बुँदामा समीक्षा गरिने जानकारी दिएका हुन्।
उपसभापति शर्माले कांग्रेसका समर्थक, शुभेच्छुक र सदस्यहरूलाई संयमता र परिपक्वताका साथ एकतामा बाँधिन आग्रह गर्दै भने, “एकआपसलाई आरोप लगाइराखेर भन्दा पनि ऐक्यबद्ध र वस्तुगत भएर समीक्षा गरेर आगामी दिनको यात्रा तय गर्नुछ। केन्द्रीय समितिमा रहेका, नरहेका, निवर्तमान नेतृत्व र अलग नेतृत्व सबैसँग सल्लाह र समीक्षा गर्नेछौँ।”
शर्माले थपे, “नेपाली कांग्रेस पार्टीले यो प्रतिकूलतालाई चिन्नेछ, एकताबद्ध भएर सामना गर्नेछ र नयाँ सम्भावनाको विकास गर्नेछ।” उनले अब बन्ने सरकारले गर्ने राम्रा काममा साथ दिने र कमजोरीमा खबरदारी गर्ने पनि बताए। “नेपाली कांग्रेस पार्टी नवीन ढंगले अगाडि आउनेछ,” उनले उल्लेख गरे।
फेसबुकबाट तपाईको प्रतिक्रिया