काठमाडौं । गोरखा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ। केहीबेरअघि मात्रै गणना प्रक्रिया सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसअघि उत्तरी गोरखास्थित मतदान केन्द्रका मतपेटिका नआइपुग्दा गणना प्रक्रिया अघि बढ्न सकेको थिएन। कार्यालयका अनुसार अहिले सबै मतपेटिका संकलन भइसकेका छन्।
मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतम का अनुसार नेपाली सेना को हेलिकप्टरमार्फत उक्त क्षेत्रका २३ मतदान केन्द्रका मतपेटिका ढुवानी गरिएको हो। “हिजो ९ वटा मतदान केन्द्रको मतपेटिका ढुवानी भयो, बाँकी आज ल्याइयो,” गौतमले जानकारी दिनुभयो।
जिल्ला समन्वय समितिको भवनमा मतगणना सुरु गरिएको छ। कार्यालयको तथ्यांक अनुसार गोरखा–१ मा ६४ हजार ५ मत खसेको छ भने कुल मतदाता संख्या १ लाख २० हजार ५२५ रहेको छ।
सो क्षेत्रमा नेपाली कांग्रेसबाट प्रेम खत्री, नेपाली कम्युनिस्ट पार्टीबाट हरिराज अधिकारी, नेकपा (एमाले) बाट आरसी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुधन गुरुङ उम्मेदवार रहेका छन्।







फेसबुकबाट तपाईको प्रतिक्रिया