मुगुमा अझै मतगणना सुरु भएन, ८० किलोमिटर टाढाबाट मतपेटिका बोकेर ल्याइँदै

160 Shares

काठमाडौं । देशका अधिकांश निर्वाचन क्षेत्रमा मतगणना जारी रहेका बेला मुगु मा भने मतपेटिका संकलन हुनै बाँकी रहेको छ।

मुगुका मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवर का अनुसार दुई वटा मतदान केन्द्रको मतपेटिका सदरमुकामतर्फ ल्याइँदैछ। उहाँका अनुसार मुगुम कार्मारोङ गाउँपालिका का मुगु गाउँ केन्द्र र डोल्फु केन्द्रबाट मतपेटिका बोकेर ल्याइँदैछ।

“८० किलोमिटर दुरी छ, हिँडेर मतपेटिका बोकेर ल्याउने हो। उकालो–ओरालो बाटो छ,” कुँवरले बताउनुभयो।

मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी गरिएको छ। दिउँसो करिब २ बजेपछि गणना सुरु हुने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो।

मुगुमा प्रतिनिधिसभाका लागि एउटै निर्वाचन क्षेत्र रहेको छ। यहाँ नेकपा (एमाले) बाट पूर्णबहादुर रोकाया, नेपाली कांग्रेसबाट खड्ग शाही, नेपाली कम्युनिस्ट पार्टीबाट चन्द्रबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भुवन टमाटा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलबहादुर मल्ल उम्मेदवार रहेका छन्।

यसैगरी प्रलोपाबाट ऐटनकुमार मल्ल र नेकपा (माओवादी) बाट रंगवीर परियार उम्मेदवार रहेका छन्।