काठमाडौं । उत्तरी गोरखाबाट मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण केही समयका लागि पोखरा डाइभर्ट भएको छ।
शुक्रबार चुमनुब्री गाउँपालिकाका विकट मतदान केन्द्रहरूबाट मतपेटिका संकलन गरी गोरखा सदरमुकाम ल्याउने क्रममा बाक्लो कुहिरोका कारण हेलिकप्टरले अवतरण गर्न नसकेपछि पोखरा विमानस्थलतर्फ डाइभर्ट गरिएको थियो।
जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार सदरमुकाम र आसपासको क्षेत्रमा भिजिबिलिटी कम भएपछि सुरक्षालाई ध्यानमा राख्दै चालकले हेलिकप्टर पोखरा लगेका थिए। पोखरामा करिब १० मिनेट ‘इमर्जेन्सी ल्यान्डिङ’ गरेपछि मौसममा सुधार आएलगत्तै हेलिकप्टर पुनः गोरखा फर्किएको हो।
गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार उक्त उडानमार्फत चुमनुब्री–१ स्थित गौरीशंकर आधारभूत विद्यालय (खाङसार) र साम्दो आधारभूत विद्यालयका मतपेटिका सुरक्षित रूपमा सदरमुकाम पु¥याइएको छ।
उत्तरी गोरखामा रहेका २३ मतदान केन्द्रमध्ये पहिलो चरणमा ७ वटा केन्द्रका मतपेटिका ल्याइसकिएको छ भने बाँकी मतपेटिका ल्याउने क्रममा मौसमले अवरोध पुर्याएको जनाइएको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया