काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्रीले ११ हजार मत कटाएका छन्।
हालसम्मको मतपरिणाम अनुसार खत्रीले ११ हजार ४९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले ३ हजार ११६ मत ल्याएका छन्।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार कविर राणाले १ हजार ५०३ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।
अग्रस्थानमा रहेका रास्वपाका उम्मेदवार खत्री करिब २० वर्ष लामो पत्रकारिताबाट बिदा लिँदै राजनीतिमा प्रवेश गरेका नेता हुन्।
एमालेका सचिवसमेत रहेका बस्नेत २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापासँग पराजित भएका थिए। २०७४ सालको निर्वाचनमा भने बस्नेत यही क्षेत्रबाट विजयी भएका थिए।
२०३१ साल माघमा भक्तपुरमा जन्मिएका बस्नेत २०४९ सालमा एमालेको साधारण सदस्य बनेका थिए। त्यसयताको राजनीतिक यात्रामा उनी एमालेभित्र प्रभावशाली नेताका रूपमा चिनिन्छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीका निकट मानिने बस्नेत जेनजी आन्दोलनपछि एमालेबाट सार्वजनिक प्रतिक्रिया दिने पहिलो नेता पनि थिए।
विपक्षीप्रति खरो टिप्पणीका कारण चर्चामा रहने बस्नेत भक्तपुरको सूर्यविनायक नगरपालिका–७ का स्थायी बासिन्दा हुन्।
कानुनमा स्नातकसम्म अध्ययन गरेका उनले २०५४ सालदेखि निर्वाचनमा प्रतिस्पर्धा गर्न थालेका हुन्। सोही वर्षको स्थानीय निकाय निर्वाचनमा उनी गुण्डु गाविसको अध्यक्षमा निर्वाचित भएका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया