काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षा व्यवस्थापनका हिसाबले सफलताउन्मुख रहेको बताउनुभएको छ।
बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आईजीपी अर्यालले सबै सुरक्षा निकाय, गृह मन्त्रालय र सरकारको दृढ अठोटका कारण निर्वाचनको सुरक्षा व्यवस्थापन प्रभावकारी भएको बताउनुभएको हो।
उहाँले निर्वाचन सुरक्षालाई लिएर गृहमन्त्रीदेखि सिपाही तहसम्मका सुरक्षाकर्मीले जिम्मेवारीपूर्वक काम गरेको उल्लेख गर्नुभयो। निर्वाचनले देशको भविष्य र राष्ट्रको सुरक्षासँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले सबै निकायबीच समन्वय गरेर काम गरिएको उहाँको भनाइ छ।
जेन–जी आन्दोलनदेखि मतदानको दिनसम्म आइपुग्दा विभिन्न चुनौती र विषम परिस्थितिको सामना गर्नुपरे पनि सुरक्षा निकायले ती समस्याको विश्लेषण गर्दै एकीकृत सुरक्षा योजनाअनुसार काम गरेको उहाँले बताउनुभयो।
उहाँका अनुसार सुरक्षा निकायहरू जस्तोसुकै चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित गर्न पनि यो निर्वाचनको सुरक्षा व्यवस्थापन सफल भएको देखिएको छ।
आईजीपी अर्यालले मतदानस्थलबाट मतपेटिका संकलनदेखि मतपरिणाम घोषणा नहुँदासम्म पनि एकीकृत सुरक्षा योजनाअनुसार नै सुरक्षा व्यवस्था अघि बढाइने बताउनुभयो।







फेसबुकबाट तपाईको प्रतिक्रिया