झापाका पाँचै क्षेत्रमा मतगणना स्थल तय, आज राति १२ बजेदेखि गणना सुरु हुने

147 Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि मतगणना स्थल तय गरिएको छ। निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित क्षेत्रका मतगणना स्थान सार्वजनिक गरेको हो।

निर्धारित स्थलअनुसार झापा क्षेत्र नं. १ को मतगणना मेचीनगर नगरपालिका कार्यालयमा हुनेछ भने क्षेत्र नं. २ को मतगणना अर्जुनधारा नगरपालिका कार्यालयमा गरिनेछ।

त्यस्तै, झापा क्षेत्र नं. ३ का लागि मतगणना जिल्ला समन्वय समिति भवनमा हुने निश्चित भएको छ। झापा क्षेत्र नं. ४ को मतगणना कन्काई नगरपालिका कार्यालयमा सम्पन्न गरिनेछ भने झापा क्षेत्र नं. ५ को मतगणना दमक नगरपालिका वडा नं. ८ स्थित अर्गानिक कृषि केन्द्रमा हुने जानकारी प्राप्त भएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान प्रक्रिया सकिएपछि ती स्थानमा कडा सुरक्षाको व्यवस्था गरी मतपेटिका संकलन गरिनेछ र मतगणना सुरु गरिनेछ। जिल्ला निर्वाचन कार्यालय झापाले मतगणना आज राति १२ बजेदेखि सुरु गर्ने तयारी गरिएको जनाएको छ।