काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकभर शान्तिपूर्ण र उत्साहजनक ढंगले मतदान कार्य सम्पन्न भएको बताउनुभएको छ।
बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै आईजीपी कार्कीले सुरक्षा निकायहरूबीचको आपसी समन्वय र एकीकृत सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनका कारण निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउनुभयो। उहाँका अनुसार छिटपुट विवादबाहेक देशभर मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
दोलखाका केही मतदान केन्द्रमा देखिएको विवाद समाधानका लागि राजनीतिक दल र निर्वाचन अधिकृतबीच छलफल भइरहेको पनि उहाँले जानकारी दिनुभयो।
आईजीपी कार्कीले मतदानको दिनसम्म आइपुग्नुअघि नै देशभरका सबै स्थानमा सुरक्षाको पूर्वतयारीस्वरूप सबै सुरक्षा निकायबीच एकीकृत सुरक्षा योजना बनाएर काम गरिएको बताउनुभयो। उहाँका अनुसार यसअघि अपनाइएका रणनीतिहरूले प्रभावकारी रूपमा काम गरेको हो।
उहाँले देशभरका अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै सामान्य दलीय प्रकृतिका केही विवाद स्थानीय तहमा दलका प्रतिनिधि र निर्वाचन अधिकृतहरूले समाधान गरेको बताउनुभयो।
जेन–जी आन्दोलनपछि प्रहरीको मनोबल केही खस्किएको भए पनि सीमित स्रोत–साधनका बाबजुद सुरक्षाकर्मीहरूले समर्पित भावनाका साथ काम गरेको आईजीपी कार्कीले बताउनुभयो। नेपालको सुरक्षा संयन्त्रले भवन, स्रोत–साधन र कानूनी व्यवस्थाभन्दा पनि कर्तव्यबोध र समर्पणलाई केन्द्रमा राखेर काम गर्दै आएको उहाँको भनाइ छ।
सुरक्षाकर्मीहरूले मुलुकलाई सर्वोपरि ठानी व्यक्तिगत सुविधा त्यागेर कर्तव्य निर्वाह गरेकै कारण निर्धारित मितिमै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुन सकेको उहाँले बताउनुभयो।
मतपेटिका संकलनदेखि मतगणना सम्पन्न नहुँदासम्म सबै सुरक्षा निकायलाई जिम्मेवारी तोकिएको उल्लेख गर्दै आईजीपी कार्कीले आगामी प्रक्रिया पनि योजनाअनुसार अघि बढाइने बताउनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया