काठमाडौं । देशभर प्रतिनिधिसभा सदस्य चयनका लागि जारी मतदानमा पाँच घण्टाको अवधिमा करिब ३२ लाख मत खसेको छ।
बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान मध्यान्ह १२ बजेसम्ममा ३१ लाख ९० हजार ८८ मत खसेको निर्वाचन आयोग ले जनाएको छ। यो कुल मतदाताको १६ दशमलव ८८ प्रतिशत हो।
मतदान दर प्रदेशगत रूपमा हेर्दा काठमाडौं उपत्यका मा सबैभन्दा बढी २५ दशमलव ५५ प्रतिशत मत खसेको छ भने मधेश प्रदेश मा सबैभन्दा कम १० दशमलव ४६ प्रतिशत मतदान भएको छ।
निर्वाचन आयोगले मतदानको समय बिहीबार साँझ ५ बजेसम्म तोकेको छ। देशका ७७ वटै जिल्लाका १६५ निर्वाचन क्षेत्रमा एकसाथ मतदान भइरहेको छ।
निर्वाचनमा ६८ राजनीतिक दलका ३ हजार ४०६ उम्मेदवार प्रत्यक्षतर्फ प्रतिस्पर्धामा छन् भने समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवारको बन्दसूची पेश गरिएको छ।
आयोगका अनुसार देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता मतदानका लागि योग्य रहेका छन्। मतदानका लागि १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्।
निर्वाचन सम्पन्न गराउन करिब ५ लाख ५६ हजार कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा २ लाख १५ हजार कर्मचारी, १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी, ७९ हजार ७२७ जना नेपाली सेना, ७५ हजार ७९७ जना नेपाल प्रहरी तथा ३४ हजार ५७६ जना सशस्त्र प्रहरी बल खटिएका छन्।
गत भदौ २३ र २४ गते भएको प्रदर्शनपछि तत्कालीन संसद विघटन भई नयाँ प्रतिनिधिसभा निर्वाचन हुन लागेको आयोगले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया