सर्लाही–४ को उम्मेदवारीले मलाई राजनीतिक रूपमा पूर्ण बनायो : गगन थापा

139 Shares

काठमाडौं । गगन कुमार थापा ले सर्लाही–४ बाट उम्मेदवारी दिएको अनुभवले आफूलाई राजनीतिक रूपमा पूर्ण बनाएको बताउनुभएको छ।

काठमाडौंको मैतीदेवीस्थित मतदान केन्द्रमा बिहीबार आफ्नो मताधिकार प्रयोग गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मधेशमा बसेर काम गर्दा आफ्नो सोच र दृष्टिकोण नै बदलिएको बताउनुभयो।

विगतका निर्वाचनहरूमा आफैं उम्मेदवार हुँदा आफैंलाई मत हाल्ने गरेको स्मरण गर्दै उहाँले यस पटक भने युवा उम्मेदवार सचिन तिमल्सिना लाई मतदान गर्न पाउँदा खुशी लागेको बताउनुभयो।

उहाँले सर्लाही–४ का दुई मतदान केन्द्रमा सामान्य तनावका कारण केही समय मतदान रोकिएको भए पनि सर्वदलीय छलफलपछि पुनः सुचारु भएको जानकारी दिनुभयो। विपक्षीले उक्साउने प्रयास गरे पनि नेपाली कांग्रेस ले संयमता अपनाएको र कुनै अप्रिय घटना हुन नदिएको उहाँको भनाइ छ।

मधेशलाई विगतमा बाहिरबाट मात्र हेरेको स्वीकार गर्दै थापाले त्यहाँको वास्तविकता नबुझेकोमा आफूलाई राजनीतिज्ञका रूपमा लज्जा लागेको बताउनुभयो। सर्लाही–४ को अनुभवले देशलाई हेर्ने नयाँ दृष्टिकोण दिएको र आफूलाई राजनीतिक रूपमा परिपक्व बनाएको उहाँको दाबी छ।