काठमाडौँ । देशभर प्रतिनिधि सभाको सदस्य चयनका लागि बिहीबार बिहान ७ बजेदेखि एकसाथ मतदान सुरु भएको छ ।
मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको चहलपहल बढ्न थालेको छ । देशका ७७ वटै जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा एकसाथ मतदान भइरहेको छ ।
निर्वाचनमा ६८ राजनीतिक दलका ३ हजार ४ सय ६ जना उम्मेदवार प्रत्यक्षतर्फ प्रतिस्पर्धामा छन् । समानुपातिकतर्फ ३ हजार १ सय ३५ जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोग नेपाल मा दर्ता गरिएको छ । देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता मतदानका लागि योग्य रहेको आयोगले जनाएको छ ।
देशभर १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएका छन् । निर्वाचन सम्पन्न गर्न ५ लाख ५६ हजार कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरिएको छ । २ लाख १५ हजार कर्मचारी, १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी, ७९ हजार ७ सय २७ जना नेपाली सेना, ७५ हजार ७ सय ९७ जना नेपाल प्रहरी र ३४ हजार ५ सय ७६ जना सशस्त्र प्रहरी खटिएका छन् ।
गत भदौ २३ र २४ गते भएको प्रदर्शनपछि तत्कालीन संसद् विघटन भई प्रतिनिधि सभाको नयाँ निर्वाचन हुन लागेको आयोगले जनाएको छ । आयोगले बिहीबार साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया