प्रतिनिधिसभा निर्वाचन अवलोकनका लागि आएका विदेशी आयुक्तलाई आयोगको ब्रिफिङ

141 Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूलाई निर्वाचनबारे ब्रिफिङ गरेको छ ।

आयोगको निमन्त्रणामा निर्वाचन अवलोकनका लागि आएका ९ देशका निर्वाचन व्यवस्थापन निकायका प्रमुख तथा अधिकारीहरूलाई निर्वाचनको तयारी, व्यवस्थापन र प्रक्रियाबारे विस्तृत जानकारी गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभएको छ ।

निर्वाचनलाई अन्तर्राष्ट्रिय समुदायले विशेष चासोका साथ हेरिरहेको सन्दर्भमा पर्यवेक्षकहरूको जिज्ञासा मेटिने गरी आयोगले तथ्यसहित जानकारी गराएको उहाँको भनाइ छ ।

प्रवक्ता भट्टराईका अनुसार विदेशी पर्यवेक्षकहरू मतदान सम्पन्न भई मतगणना प्रारम्भ हुने दिन अर्थात् शनिबारसम्म नेपालमै रहनेछन् । यस अवधिमा उनीहरूले आयोगसँग समन्वय गरी तोकिएका मतदान केन्द्रहरूमा पुगेर मतदान प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्नेछन् ।

धेरैजसो पर्यवेक्षकहरूले मतदानपश्चात् मतगणना प्रक्रियाको समेत अवलोकन गर्न इच्छा व्यक्त गरेको जानकारी दिँदै आयोगले पारदर्शी र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आवश्यक सबै तयारी पूरा गरेको जनाएको छ ।