निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह

157 Shares

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न सम्पूर्ण मतदातालाई आह्वान गर्नुभएको छ ।

निर्वाचनको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै उहाँले सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको हो । गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको विद्रोहपछि विकसित विषम परिस्थितिमा यो आकस्मिक निर्वाचन हुन गइरहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गर्नुभयो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयार रहेको उहाँको भनाइ छ ।

निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित वातावरण निर्माण गर्न आयोग दृढ संकल्पित रहेको उहाँले स्पष्ट पार्नुभयो । मतदानलाई मतदाताको नैसर्गिक अधिकार र कर्तव्य दुवै भएको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताउनुभयो ।

उहाँका अनुसार, मतदाताको सहभागिता राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्चतम अभिव्यक्ति हो । सुसूचित मतदानले शासनप्रतिको नागरिक अपनत्व बढाउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

निर्वाचन व्यवस्थापनका सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चारकर्मी तथा आमसञ्चारमाध्यमबाट प्राप्त सहयोगप्रति धन्यवाद दिँदै उहाँले बिहीवार २०८२ फागुन २१ गते आ–आफ्ना मतदान केन्द्रमा उपस्थित भई निर्धक्कका साथ मतदान गर्न सम्पूर्ण मतदातासमक्ष हार्दिक अनुरोध गर्नुभएको छ ।