काठमाडौं । गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ। बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन हवाई गस्ती गर्ने निर्णय गरेको छ।
गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यका अनुसार बैठकले निर्वाचन दिन सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै हवाई गस्ती सञ्चालन गर्ने, हेलिकोप्टर स्ट्यान्डबाइ राख्ने र सुरक्षामा कुनै कसर बाँकी नराख्ने निर्णय गरेको हो।
बैठकमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू तथा गृहमन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
बैठकमा देशभरको विद्यमान सुरक्षा अवस्था, निर्वाचन तयारी, संवेदनशील क्षेत्रको पहिचान, शान्ति–सुरक्षा रणनीति र सम्भावित चुनौतीबारे विस्तृत छलफल भएको बताइएको छ। विशेषगरी मतदान केन्द्रहरूको सुरक्षा, संवेदनशील तथा अति–संवेदनशील क्षेत्रको निगरानी, आकस्मिक परिस्थितिमा तत्काल प्रतिकार गर्ने संयन्त्र सक्रिय राख्ने विषयमा सहमति बनेको जनाइएको छ।
यसअघि बुधबार बिहान मात्रै गृहमन्त्री अर्यालले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग जुम मिटिङमार्फत सम्पर्क गरी जिल्लागत सुरक्षा अवस्था, तयारी र चुनौतीबारे जानकारी लिएका थिए।
गृह मन्त्रालयले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन सबै सुरक्षा संयन्त्र पूर्ण रूपमा परिचालन गरिएको जनाएको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया