टी–२० विश्वकपको पहिलो सेमिफाइनल आज: न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्दै

172 Shares

काठमाडौं । ICC Men's T20 World Cupको पहिलो सेमिफाइनलमा बुधबार न्युजिल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्ने भएको छ।

सेमिफाइनलको पहिलो खेल भारतको Eden Gardens मैदानमा बेलुका सवा ७ बजेदेखि सुरु हुनेछ।

समूह चरणका चारै खेल जित्दै समूह ‘डी’को विजेता बनेर सुपर–८ प्रवेश गरेको दक्षिण अफ्रिका यस विश्वकपमा अपराजित छ। सुपर–८ को समूह १ मा रहेको दक्षिण अफ्रिकाले पहिलो खेलमा भारतलाई ७६ रनले पराजित गरेको थियो। दोस्रो खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको जित निकालेको थियो भने अन्तिम खेलमा जिम्बाब्वेलाई पाँच विकेटले हराएको थियो।

यता न्युजिल्यान्ड भने समूह चरणदेखि नै उतारचढावबीच सुपर–८ हुँदै सेमिफाइनल पुगेको हो। समूह चरणमा तीन जित र एक हार बेहोरेको न्युजिल्यान्ड सुपर–८ मा अंक बाँडेकै आधारमा अन्तिम चारमा पुगेको हो। सुपर–८ को पहिलो खेलमा पाकिस्तानसँगको खेल वर्षाले अवरुद्ध हुँदा एक अंक पाएको थियो। दोस्रो खेलमा सह–आयोजक श्रीलङ्कालाई ६१ रनले पराजित गरेको न्युजिल्यान्ड अन्तिम खेलमा इंग्ल्यान्डसँग चार विकेटले पराजित भएको थियो।

दक्षिण अफ्रिका समूह १ को विजेता र न्युजिल्यान्ड समूह २ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्। अपराजित दक्षिण अफ्रिका कागजी रूपमा बलियो देखिए पनि न्युजिल्यान्डले पनि महत्वपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गर्ने इतिहास राखेको छ।

दोस्रो सेमिफाइनलमा बिहीबार भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। टी–२० विश्वकपको फाइनल खेल भने आइतबार हुने तालिका रहेको छ।