प्रतिनिधिसभा निर्वाचनको तयारी पूरा: गृह मन्त्रालयले सबै जिल्ला सुरक्षा व्यवस्थाबारे जानकारी लियो

154 Shares

काठमाडौं । गृह मन्त्रालयले यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

मन्त्रालयमा बुधबार बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक गरी निर्वाचन सुरक्षा र व्यवस्थापकीय तयारीको समीक्षा गरिएको हो। गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा मन्त्रालयका उच्च अधिकारीसहित सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले भाग लिएका थिए।

मन्त्रालयका सह-प्रवक्ता रमा आचार्यका अनुसार तीन घण्टा चलेको बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था, कर्मचारी परिचालन र मतदान सामग्री वितरणलगायत विषयमा विस्तृत छलफल भएको थियो। सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निर्वाचनको तयारी पूरा भएको र सुरक्षा अवस्था सामान्य रहेको जानकारी दिएका छन्।

बैठकमा जिल्लाका निर्वाचन तयारी, विद्यमान अवस्था, केन्द्रसँगको समन्वय, शान्ति–सुरक्षा, निर्वाचन दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशीलताबारे समीक्षा गरिएको थियो। गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्। बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले मतदान स्थलमा कर्मचारी र निर्वाचन सामग्री पुगेको सुनिश्चित गरेको जानकारी दिएका छन्।