राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण फागुन २५ गते

173 Shares

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले सङ्घीय संसद सचिवालयको व्यवस्था अनुसार फागुन २५ गते शपथ ग्रहण गर्ने भएका छन्।

सिंहदरबारमा रहेको कानून, न्याय तथा मानव अधिकार समितिको हलमा सोमबार दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यहरूलाई शपथ गराउने बताइएको छ।

राष्ट्रियसभाको चुनाव गत माघ १९ गते सम्पन्न भएको थियो। उक्त चुनावबाट १८ जना सदस्य निर्वाचित भएका हुन्। ५९ सदस्यीय राष्ट्रियसभामा एकतिहाइ सदस्यका लागि हरेक दुई वर्षमा चुनाव हुने व्यवस्था छ। यसै फागुन २० गते १९ जनाको कार्यकाल सकिने भए पनि एक जना सदस्य राष्ट्रपतिका सिफारिसमा मनोनित गरिने व्यवस्था छ।