काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बुधबार राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। मतदान कार्य सम्पन्न नहुन्जेलसम्मका लागि सुरक्षा व्यवस्था कडा पार्दै उक्त निर्णय लागू गरिएको हो।
निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएको हो। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदान सम्पन्न नहुन्जेल अत्यावश्यक सेवा बाहेकका सवारीसाधन सञ्चालन गर्न पाइने छैन।
आयोगले तीन प्रकारका सवारीसाधनलाई भने सञ्चालन अनुमति दिएको छ। एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चारका सवारीसाधन, खानेपानी तथा विद्युत मर्मतसम्बन्धी सवारीसाधनजस्ता अतिआवश्यक सेवाका सवारी निर्वाध सञ्चालन गर्न पाइनेछ। साथै कूटनीतिक नियोगका निलो प्लेट भएका सवारीसाधन र निर्वाचन आयोग तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास प्राप्त सवारीसाधनलाई पनि सञ्चालन अनुमति दिइएको छ।
सूचना अधिकारी घिमिरेले गन्तव्यमा पुग्नुपर्ने मतदाता तथा यात्रुलाई सवारीसाधन बन्द हुनुअगावै आवश्यक तयारी गर्न आग्रह गर्नुभएको छ।
आयोगले निर्वाचन अवधिमा सवारी प्रयोगका क्रममा कुनै अवरोध वा समस्या उत्पन्न भएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरेको छ। आवश्यक परेमा सुरक्षा निकायले निर्वाचन आयोगसँगको समन्वयमा सहजीकरण गर्ने व्यवस्था मिलाइने जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया