प्रतिनिधिसभा निर्वाचनका लागि कोशीका सबै अन्तर्राष्ट्रिय नाका सिल

53 Shares

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन कोशी प्रदेशका नेपाल–भारत तथा नेपाल–चीनसँग जोडिएका सबै अन्तर्राष्ट्रिय सिमानाकामा संयुक्त सुरक्षा फौज परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। मंगलबार बिहान १ बजेदेखि प्रदेशका सबै सिमानाकामा आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल को सुनसरीस्थित बराहा बाहिनी पकलीका डीआईजी मनीष थापा का अनुसार फागुन २१ गते राति १२ बजेसम्मका लागि सबै नाका सिल गरिएको छ। निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै भारत र चीनसँग सीमा जोडिएका जिल्लाका सबै अन्तर्राष्ट्रिय नाकामा कडाइ गरिएको उहाँले जानकारी दिनुभयो।

भारतसँग सीमा जोडिएका सुनसरी, मोरङ, झापा र इलाम तथा चीनसँग सीमा जोडिएका ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुका प्रमुख नाकाहरू पूर्ण रूपमा बन्द गरिएका छन्। यस अवधिमा नेपाल–भारत तथा नेपाल–चीनबीचको नियमित आवतजावत रोकिएको छ।

सीमा क्षेत्रमा अवाञ्छित गतिविधि हुन नदिन भारतीय सशस्त्र सीमा बल (एसएसबी) तथा चिनियाँ सुरक्षा निकायसँग समन्वय गरी संयुक्त रूपमा सुरक्षा फौज परिचालन गरिएको छ। उच्च सतर्कता अपनाउँदै संयुक्त गस्ती, निगरानी तथा चेकजाँचलाई तीव्र बनाइएको डीआईजी थापाले बताउनुभयो।