काठमाडौं । ओमप्रकाश अर्याल ले रामेछापमा सोमबार भएको बस दुर्घटनाका घाइतेलाई भेटी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।
गृहमन्त्री अर्यालसहितको टोलीले काठमाडौंको छाउनीस्थित नेपाली सेना सैनिक अस्पताल पुगेर उपचाररत घाइतेसँग संवाद गरेको हो। रामेछाप नगरपालिका–२ सिरुबारीमा भएको उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका छन्।
उक्त अवसरमा मन्त्री अर्यालले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो। उहाँसँगै मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्ले लगायत उच्च अधिकारीहरू पनि अस्पताल पुगेका थिए।
अस्पतालका चिकित्सक तथा नेपाली सेनाका सहायकरथी नम्रता महरा का अनुसार घाइतेमध्ये पूजा सुनुवारको सघन उपचार कक्षा (आईसीयू) मा उपचार भइरहेको छ। अन्य घाइते भीमबहादुर मानन्धर, केदारकुमार रोका, दुर्गा कार्की, कृष्णप्रसाद घिमिरे, सबिना खड्का र समरबहादुर मानन्धर मेडिकल वार्डमा उपचाररत छन्।
मन्थलीबाट कालीका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयका मतदान केन्द्रमा निर्वाचन सामग्री तथा कर्मचारी लिएर जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खसेको थियो। दुर्घटनामा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो।







फेसबुकबाट तपाईको प्रतिक्रिया