काठमाडौं । यही फागुन २१ गते बिहीबार देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुने भएको छ।
निर्वाचन आयोग का अनुसार तोकिएका मतदान केन्द्रहरूमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। मतदान गर्न जाँदा मतदाताले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।
आयोगका सूचना अधिकारी सुमन घिमिरे का अनुसार मतदाता नामावलीमा नाम भएका मतदाताले निर्वाचन आयोगद्वारा उपलब्ध गराइएको मतदाता परिचयपत्र प्रयोग गर्नुपर्नेछ। सो परिचयपत्र नभएमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एक कागजातका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ।
मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। मतदाताले आफ्नो पालोअनुसार लाइनमा बसेर मतदान गर्नुपर्नेछ। शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैंले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूका लागि विशेष सहजीकरणको व्यवस्था मिलाइएको छ। यस्ता मतदाताले मतदान अधिकृत, सहायक मतदान अधिकृत वा खटिएका कर्मचारी तथा स्वयंसेवकबाट आवश्यक सहयोग लिन सक्नेछन्।
आयोगले सबै मतदातालाई अनुशासित, मर्यादित र शान्तिपूर्ण रूपमा मतदान प्रक्रियामा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न आह्वान गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया