काठमाडौं । प्रेस काउन्सिल नेपाल ले मतदानको दिनसम्मको मौन अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालनाका लागि सबै सञ्चारकर्मी, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।
काउन्सिलले मंगलबारदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापन बाहेक टक शो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तर जस्ता कार्यक्रम नगर्न/नगराउने सम्बन्धी प्रावधान स्मरण गराएको हो।
आचारसंहिता उल्लङ्घन भएमा पत्रकार आचारसंहिता, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ अनुसार तत्काल कारबाही प्रक्रिया अवलम्बन गरिने चेतावनी काउन्सिलले दिएको छ।
काउन्सिलका सहप्रवक्ता रामशरण बोहरा का अनुसार आचारसंहिता उल्लङ्घनका विषयलाई सञ्चारमाध्यमको मूल्यांकन, वर्गीकरण र लोककल्याणकारी विज्ञापन भुक्तानीका लागि समेत अभिलेखीकरण गरिनेछ।
निर्वाचन मौन अवधिमा आचारसंहिता पालनामा थप संवेदनशील, सजग र सचेत रहन काउन्सिलले सबै सरोकारवालालाई आग्रह गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया