निर्वाचन आचारसंहितामा कडाइ, अनुगमन अधिकृतलाई सूक्ष्म निगरानी गर्न आयोगको निर्देशन

158 Shares

काठमाडौं । जेनजी आन्दोलनपछि यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब दुई दिन मात्रै बाँकी रहँदा निर्वाचन आयोग ले आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ ।

सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले निर्वाचन आचारसंहिताको दफा ३२ बमोजिम तोकिएका अनुगमन अधिकृतहरूलाई आफ्नो जिम्मेवारी कडाइका साथ पालना गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुगमन अधिकृतहरूलाई जिल्लाभित्र सूक्ष्म अनुगमन गर्न तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीतका गतिविधि पाइएमा तत्काल कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन अधिकार प्रत्यायोजन गरिएको छ । जिल्ला आचारसंहिता अनुगमन समितिसँगको सहकार्यमा आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याइने आयोगले स्पष्ट पारेको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता, २०८२ को प्रभावकारी कार्यान्वयनमा जोड दिइएको आयोगले जनाएको छ ।

आयोगले निर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालालाई प्रचलित कानून र आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ । साथै प्रचार–प्रसार निषेध अवधिमा गर्न नहुने कुनै पनि गतिविधि नगर्न र नगराउन चेतावनीसमेत दिएको छ ।