रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना, मृत्यु हुनेको संख्या दुई पुग्यो

145 Shares

रामेछापरामेछापको रामेछाप नगरपालिका–२ देउरालीमा सोमबार कर्मचारीसहित निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ।

दुर्घटनामा ज्यान गुमाउनेमा नेपाल प्रहरीका असई आरपी यादव र वडा कार्यालय भवन रामेछाप नगरपालिका–३ साँघुटार मतदान केन्द्र (ख) का मतदान अधिकृत डोरप्रसाद घिमिरे रहेका छन्। घिमिरे मन्थली नगरपालिका–६स्थित रुद्राक्षेश्वर मावि, मुगिटारका निमावि द्वितीय शिक्षक थिए।

रामेछाप नगरपालिका–२ देउरालीस्थित सितलादेवी मावि र वडा नं ३ साँघुटारको वडाकार्यालय मतदान केन्द्रका कर्मचारी तथा निर्वाचन सामग्री बोकेको निसान कम्पनीको मिनिट्रक देउरालीको सिरुवारी क्षेत्रमा ब्याक गर्ने क्रममा दुर्घटनामा परेको स्थानीयले बताएका छन्।

दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन्। घाइतेलाई उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्सपेक्टर राजनप्रसाद तिमल्सिनाले जानकारी दिएका छन्। घाइतेमध्ये दुई पुरुष र तीन महिला रहेका छन्।