निर्वाचनका कर्मचारी र सुरक्षाकर्मी सोमबार अपराह्नसम्म मतदान केन्द्रमा पुग्ने

178 Shares

काठमाडौं — फागुन २१ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीहरू सोमबार अपराह्नसम्म देशभरका मतदान केन्द्रमा पुग्ने भएका छन्।

निर्वाचन आयोगले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीलाई सम्बन्धित केन्द्रमा पुग्न परिपत्र गरेको जनाएको छ। दुर्गम तथा विकट भेगका मतदान केन्द्रहरूमा भने केही दिनअघि नै सुरक्षाकर्मीसहितको टोली पुगिसकेको छ। यातायात सुविधा पुगेका स्थानमा सोमबार अपराह्नसम्म मतदान केन्द्रमा पुगेर आवश्यक तयारी गर्न आयोगले निर्देशन दिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सोमबार अपराह्नसम्म मतदान केन्द्रको चारकिल्ला तोकी केन्द्रको हाता निर्धारण गरिएको सूचना टाँस्नुपर्नेछ। विकटका दुई सयभन्दा बढी मतदान केन्द्रमा आइतबार नै कर्मचारी पुगिसकेको आयोगले जनाएको छ।

देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट सुरक्षाकर्मीको उपस्थितिमा सम्बन्धित मतदान अधिकृतहरूले निर्वाचन सामग्री बुझ्ने व्यवस्था मिलाइएको छ। निर्वाचन सम्पन्न नभएसम्म सुरक्षाकर्मी र निर्वाचन गराउने कर्मचारीहरूको टोली सँगै रहने व्यवस्था गरिएको आयोगले जानकारी दिएको छ।